काठमाडौँ। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का केन्द्रीय सचिव शैलेन्द्र साह ले जेनजी आन्दोलनका क्रममा भएको भदौ २३ को दमन र भदौ २४ को विध्वंशबारे छानबिन गर्न गठन गरिएको आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
सचिव साहका अनुसार उक्त आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन। उनले प्रतिवेदन लुकाइनु स्वयंमा शंकास्पद भएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाएका छन्।
“यदि प्रतिवेदन जनताको पक्षमा छ भने किन सार्वजनिक गर्न ढिलाइ भइरहेको छ?” उनले प्रश्न गर्दै भने, “यदि दोषीहरू शक्तिशाली छन् भने के उनीहरूलाई जोगाउने प्रयास भइरहेको हो?”
साहले प्रतिवेदन ‘लिक’ भएको वा गराइएको विषयमा समेत आशंका व्यक्त गर्दै यसलाई सत्य लुकाउन नसकिने संकेत वा योजनाबद्ध रूपमा जनमत प्रभावित गर्ने प्रयासका रूपमा व्याख्या गर्न सकिने बताएका छन्।
उनले लोकतान्त्रिक प्रणालीमा सत्य लुकाएर जनविश्वास कायम राख्न नसकिने उल्लेख गर्दै जनतालाई सत्य जान्ने, दोषी चिन्ने र न्याय माग्ने अधिकार रहेको स्पष्ट पारे।
सचिव साहले सरकारलाई ढिलाइ नगरी प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्दै त्यसका आधारमा दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
भदौ २३ दमन र २४ को विध्वंशबारे आयोग प्रतिवेदन सार्वजनिक गर्न जसपा नेपालका सचिव साहको माग
