सर्लाही, साउन ७ — सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नं. ६ सुखैनियाबाट प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।
बुधबार साँझ ४:३० बजे जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले गोरखकालीस्थित प्रहरी चेकपोष्टमा चेकिङ्गका क्रममा भारतीय नम्बर प्लेट (BR 30A 1071) भएको मोटरसाइकल रोकेपछि घटनाको सुरुवात भएको हो।
मलंगवा–६, सुखैनिया बस्ने मोटरसाइकल चालक मोहन पासवानसँग सवारी कागजात खोज्दा उनले “मोबाइलमा छ” भन्दै देखाउन खोजेका बेला उनको मोबाइलमा एक बालकले कटुवा पेस्तोल ताकेको तस्बिर भेटिएको थियो। सो बालक मोहनका १२ वर्षीय छोरा नवल पासवान थिए।
तस्बिरको सम्बन्धमा सोधपुछ गर्दा ती हतियार रामहुलास पासवान (२३ वर्ष), मलंगवा–६, धनिपत पासवानका छोरा, को भएको मोहनले बताएका थिए। सो सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमाण्डमा ९ जना प्रहरीको टोली परिचालन गरिएको थियो।
उक्त टोलीले सोही दिन राति ९:३० बजे रामहुलास पासवानलाई घरबाट नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा रामहुलासले देखाएको स्थान – आफ्नै घरको पूर्व भित्तामा कपडाले बेरेर लुकाइएको अवस्थामा – प्रहरीले कटुवा पेस्तोल एक थान बरामद गरेको हो।
मोहन पासवान र रामहुलास पासवानलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
