‎सातबुँदे माग सहित जसपा नेपालद्वारा चन्द्रनगर गाउँपालिकालाई ज्ञापनपत्र बुझाइयो ।

चन्द्रनगर, सर्लाही – २०८२ साउन ६ / जनता समाजवादी पार्टी, नेपाल चन्द्रनगर गाउँपालिका समिति​ले स्थानीय कृषक, उपभोक्ता र सर्वसाधारण नागरिकको समस्या उजागर गर्दै चन्द्रनगर गाउँपालिकालाई सातबुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ।

‎गाउँपालिकाका अध्यक्षमार्फत बुझाइएको उक्त ज्ञापनपत्रमा पार्टीले विशेषगरी खानेपानीको हाहाकार, खेतीका लागि सिंचाइ अभाव, कम भोल्टेजको विद्युत आपूर्ति, कृषिमा विद्युतिकरणको ढिलाइ, विद्यालयमा कार्यरत कर्मचारी हटाउने निर्णय लगायतका समस्याप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

‎ज्ञापनपत्रमा तत्काल खानेपानीको व्यवस्था मिलाइनुपर्ने,
पावर ड्रिल तथा डिप ट्युबवेल बोरिङ्गको लागि पर्याप्त बजेट छुट्याइनुपर्ने, भोल्टेज समस्या समाधान गर्न ट्रान्सफर्मर जडान गर्नुपर्ने, अधिकांश खेतमा कृषिमा विद्युतिकरण पुर्‍याइनुपर्ने,चोरी र दुर्घटनाको न्यूनीकरणका लागि प्रत्येक चौकमा सीसी क्यामरा जडान गर्नुपर्ने, मुख्य सडकमा सामग्री राखेर हुने दुर्घटनालाई रोक्न पालिकाले ठोस कदम चालेर सडक खाली गराउनुपर्ने, विगत १०–१५ वर्षदेखि कार्यरत शिक्षक र कर्मचारीलाई कुनै पनि हालतमा हटाइनु नहुने।


‎जसपा नेपालका चन्द्रनगर गाउँपालिका अध्यक्ष नन्दलाल रायद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा साउन महिनाको दोस्रो सातासम्म पनि वर्षा नहुनु, हैण्डपाइपहरू सुक्नु, बोरिङ्गको पानी पनि सुक्नुजस्ता समस्याले कृषकहरू मारमा परेको उल्लेख गरिएको छ। विद्युतमा भोल्टेज नहुनु, बिउ सुक्न थाल्नु र पिउने पानीको अभाव हुनुले जनजीवन अत्यन्त कठिन बनेको पार्टीको भनाइ छ।


‎पार्टीले आगामी बजेट निर्माणमा यी समस्या समाधानका पक्षमा प्राथमिकता दिन चन्द्रनगर गाउँपालिकालाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *