‎धनुषामा लागू औषध ‘खैरो हिरोइन’ सहित दुई युवक पक्राउ‎

जनकपुरधाम, धनुषा। धनुषा प्रहरीले ठूलो परिमाणको लागू औषध ‘ब्राउन सुगर (खैरो हिरोइन)’ सहित दुईजनालाई पक्राउ गरेको छ।

‎ईलाका प्रहरी कार्यालय ढल्केवर र मातहत प्रहरी चौकी पोर्ताबाट खटिएको संयुक्त टोलीले गणेशमान चारनाथ नगरपालिका–७, पोर्ता चौकस्थित पूर्व–पश्चिम लोकमार्गमा चेकपोस्ट खडा गरी जाँच गर्ने क्रममा उक्त लागू औषध बरामद गरेको हो।


‎ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार, बा.प्र.०२.१.२०८७ नम्बरको मोटरसाइकलमा सवार दुई जना व्यक्ति पूर्वतर्फबाट पश्चिम आउँदै गर्दा रोक्न खोजेपछि पछाडिबाट सवार सिराहा मिचैया नगरपालिका–७ निवासी २४ वर्षीय निराजन यादव मोटरसाइकलबाट हाम फालेर भाग्ने क्रममा साथमा रहेको खैरो हिरोइन झाडीमा फालेका थिए।

‎प्रहरीले सो स्थानबाट कुल ३७.९ ग्राम खैरो हिरोइन बरामद गरेको जनाएको छ।

‎त्यसैगरी मोटरसाइकल चालक सप्तरी राजविराज नगरपालिका–९ निवासी ३९ वर्षीय रोहन कुमार सिंह समेतलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक यादवले जानकारी दिए।

‎धनुषा जिल्ला अदालतको अनुमति अनुसार दुवै अभियुक्तलाई ८ दिनको म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।