सर्लाही, बलरा, साउन २६ गते
तराई–मधेशको सुख्खा संकट गहिरिँदै जाँदा बलरा नगरपालिकाका नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले प्रधानमन्त्रीलाई सम्वोधन गर्दै एक मर्मस्पर्शी खुला पत्र लेखेका छन्। “तराई सुकिरहेको छ, सरकार! अब घोषणा मात्र होइन, पानी र राहत चाहिएको छ,” भन्ने स्पष्ट चेतावनीसहित उनले तत्काल कदम चाल्न आग्रह गरेका छन्।
नगर प्रमुख कुशवाहाले पत्रमार्फत हालको संकटलाई ‘सुख्खा विपत्ति’ को रूपमा व्याख्या गरेका छन्। उनका अनुसार साउन महिनाको अन्त्यसम्म पनि एक थोपा वर्षा नभएको कारणले इनार, ट्युबवेल, कुँवा सुक्न थालेका छन्, खेतबारी बाँझिएका छन् र जनस्वास्थ्यसमेत संकटमा परेको छ।
उनले भनेका छन्, “मधेशमा वर्षा नहुँदा प्यासले छटपटिएका जनता, बन्जर खेत र सुकिरहेका जलस्रोत केवल मौसमको ‘असहजता’ होइन, यो पूर्णरूपमा प्राकृतिक आपत हो।”
नगर प्रमुख कुशवाहाले प्रधानमन्त्री समक्ष पाँच प्रमुख माग प्रस्तुत गरेका छन्:
१. तत्काल राहत घोषणा – सुख्खा प्रभावित क्षेत्रका लागि आपतकालीन राहत कार्यक्रम तुरुन्त कार्यान्वयन।
२. निःशुल्क पानी वितरण केन्द्र – प्रत्येक वडामा पानी अभावको कारण निशुल्क पानी वितरण केन्द्र स्थापना।
३. खडेरी राहत कोष – विपन्न तथा दैनिक ज्यालादारीमा निर्भर परिवारका लागि विशेष राहत कोषको व्यवस्था।
४. आपतकालीन सिंचाइ उपाय – ट्यांकर, वैकल्पिक जलस्रोत तथा सिँचाइ सुविधा उपलब्ध गराउने रणनीति।
५. मोबाइल स्वास्थ्य टोली परिचालन – जनस्वास्थ्य जोखिम न्यूनीकरण गर्न मोबाइल स्वास्थ्य टोली परिचालन।
पत्रमा उनले मधेशका पुराना संकटहरू – बाढी, शीतलहर र अहिलेको सुख्खा अवस्थाको उल्लेख गर्दै भनेका छन्, “मधेशमा शीतलहर आउँदा मरिन्छ, बाढी आउँदा बगिन्छ, र अहिले — वर्षा नआउँदा सुक्छ।”
कुशवाहाले राज्यका नीति–निर्माताहरूको ध्यान अझै स्थायी समाधानतर्फ केन्द्रित नहुनु दुर्भाग्यपूर्ण भन्दै सामाजिक न्याय, समावेशिता र उत्तरदायी नेतृत्वप्रति आस्था व्यक्त गरेका छन्। “यो गुनासो होइन, जनताको आवाज हो,” उनले उल्लेख गरेका छन्।
उनको पत्रले पानीलाई अधिकार होइन, भाग्य बन्ने अवस्था आएको चित्रण गर्दै सरकारलाई अब संवेदनशील र तत्काल हस्तक्षेप गर्न बाध्य बनाउने चेतावनीसमेत दिएको छ।
मधेश सुकिरहेको छ, सरकार! – बलरा नगर प्रमुख कुशवाहाको प्रधानमन्त्रीलाई मार्मिक खुला पत्र
