राजविराज, साउन २२ गते / एभिन्युज टेलिभिजन मधेस प्रदेशका विशेष संवाददाता तथा प्रेस मंच नेपालका उप–महासचिव बैद्यनाथ यादवमाथि समाचार संप्रेषणको क्रममा योजनाबद्ध आक्रमण भएकोप्रति प्रेस मंच नेपाल संघीय समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
बुधबार साँझ राजविराजको दर्शन चौकमा पत्रकार यादवमाथि भएको आक्रमण लोकतन्त्रको आधारशिला प्रेस स्वतन्त्रतामाथिको खुला धावा भएको प्रेस मंच नेपालले स्पष्ट पारेको छ ।
पत्रकार यादव सप्तरीको राजगढ गाउँपालिका–२, कमलपुर निवासी लालु यादवको प्रहरीको गोलीबाट भएको मृत्यु प्रकरणमा स्थानीय संघर्ष समिति, जनप्रतिनिधि र नागरिकहरूसँग संवाद गरिरहेका बेला आक्रमणमा परेका थिए ।
संघीय समितिले जारी गरेको विज्ञप्तिमा यस्तो अराजक र उच्छृंखल समूहद्वारा गरिएको सांघातिक आक्रमण कानुनी राज्य र लोकतान्त्रिक मूल्य मान्यताको उल्लंघन भएको उल्लेख छ । प्रेस मंच नेपालले आक्रमणकारीको तत्काल पहिचान गरी कानुनी कारबाही गर्न प्रशासनसँग माग गर्दै पत्रकारको कार्यक्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न जोड दिएको छ ।
“प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारको सुरक्षा राज्यको जिम्मेवारी हो,” विज्ञप्तिमा भनिएको छ, “यस घटनालाई लिएर नेपाल पत्रकार महासंघसहित सम्पूर्ण सञ्चार क्षेत्रका सरोकारवाला निकायहरूले गम्भीर चासो जनाई आवश्यक कदम चाल्न जरुरी छ ।”
प्रेसमाथिको आक्रमणप्रति प्रेस मंच नेपालको घोर भर्सना, दोषीलाई कडा कारबाहीको माग
