‎बरहथवामा बस दुर्घटनामा १३ वर्षीय बालकको मृत्यु ।

सर्लाही, २०८२ साउन २२/ सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीस्थित भित्री सडकखण्डमा स्कुल बसबाट खस्दा एक १३ वर्षीय बालकको ज्यान गएको छ।


‎दुर्घटना आज दिउँसो करिब ४:३० बजे भएको हो। बरहथवाबाट टाँडीतर्फ जाँदै गरेको कायाकल्प एकेडेमीको ग १ ख ९५६८ नम्बरको स्कुल बसबाट खस्दा धनकौल गाउँपालिका–३ हरकठ्वाका निसार शेखका छोरा फैजान शेख गम्भीर घाइते भएका थिए। उनी सोही एकेडेमीमा कक्षा ३ मा अध्यनरत थिए।


‎घटनाका प्रत्यक्षदर्शीका अनुसार फैजान स्कुल बसको ढोकामा उभिएका थिए। सोही क्रममा असन्तुलन भई उनी सडकमा खसेका हुन्। दुर्घटनापछि उनलाई तत्काल बरहथवास्थित संकटमोचन अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि बिरगञ्जस्थित नेशनल मेडिकल कलेज पुर्‍याइएको थियो। तर चिकित्सकले साँझ ७ बजे उनलाई मृत घोषणा गरेका हुन्।


‎घटनापछि ईलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले बस र बस चालक बागमती नगरपालिका–१० का २१ वर्षीय राजकुमार यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।


‎घटनास्थल बरहथवा ईलाका प्रहरी कार्यालयबाट करिब ६ किलोमिटर दक्षिणमा पर्दछ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *