मलंगवा, सर्लाही ।
जनता समाजवादी पार्टी, नेपालका सर्लाही निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार भरत चौधरीले मलंगवा नगरपालिका वडा नम्बर ९ मा घरदैलो कार्यक्रम तथा आम नागरिकसँग प्रत्यक्ष भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ।
घरदैलो तथा भेटघाटका क्रममा स्थानीय नागरिकहरूले उम्मेदवार चौधरीप्रति गहिरो विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा उहाँको जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन्। पछिल्लो समय देशमा देखिएको ‘जेन्जी आन्दोलन’पछि आएको राजनीतिक परिवर्तनको चाहनालाई सम्बोधन गर्ने व्यवहारिक विकल्पका रूपमा भरत चौधरीलाई हेर्न थालिएको स्थानीयहरूको भनाइ छ।
कार्यक्रमका क्रममा उम्मेदवार चौधरीले क्षेत्रको कमजोर शैक्षिक अवस्था, हुलाकी राजमार्गको दयनीय स्थिति, साथै बाटोघाटो र अन्य भौतिक पूर्वाधार विकासलाई प्राथमिक एजेन्डाका रूपमा अघि सार्नुभएको छ। आफू निर्वाचित भएपछी क्षेत्रवासीले प्रत्यक्ष रूपमा विकासको अनुभूति गर्ने गरी काम गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
जनतामाझ बोल्दै चौधरीले, “म केवल भाषण गर्ने नेता होइन, काम गरेर देखाउने नेता हुँ,” भन्दै जनताले देखाएको विश्वासलाई व्यवहार र परिणाममार्फत प्रमाणित गर्ने वाचा गर्नुभयो।
स्थानीयवासीहरूका अनुसार वर्तमान राजनीतिक अवस्थाबाट दिक्क भएका मतदाताहरू अहिले भाषणभन्दा पनि काम गर्ने, व्यवहारिक र परिणाममुखी नेतृत्वको खोजीमा छन्। यही कारण भरत चौधरीप्रति आम नागरिकको आकर्षण बढ्दै गएको उनीहरूको धारणा रहेको छ।
मलंगवा–९ मा जसपा नेपालका उम्मेदवार भरत चौधरीको घरदैलो, स्थानीयद्वारा जितको भरोसा
