डाक्नेश्वरी (सप्तरी), २२ माघ । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले बिहीबार पनि चुनावी छलफल तथा भेटघाटलाई तीव्रता दिएका छन्।
डाक्नेश्वरी नगरपालिकाको लक्ष्मीपुर, पातो, बलाटी र बनौला गाउँमा स्थानीय नेता, कार्यकर्ता तथा आम मतदातासँग प्रत्यक्ष छलफल र भेटघाटमा उम्मेदवार यादव व्यस्त भएका हुन्। बिना तामझाम जनतामाझ पुगेका यादवसमक्ष स्थानीयले विगतमा निर्वाचित जनप्रतिनिधिहरुले अपेक्षित विकास नगरेको गुनासो गरेका छन्।

स्थानीयले गाउँमा अझै सहज बाटो नपुगेको, सिंचाइ सुविधाको अभाव, गुणस्तरीय शिक्षाको कमी, सुविधासम्पन्न अस्पताल नहुनु, पुल नहुँदा वर्षायाममा खोला तर्नुपर्ने समस्या, समयमा मलखाद नपाउने अवस्था, ग्रामीण महिलाहरु अवसरबाट वञ्चित हुनु, बेरोजगारी, नदी नियन्त्रण जस्ता समस्याहरु उम्मेदवार यादवसमक्ष राखेका छन्। चुनावका बेला मीठा आश्वासन बाँडेर जाने तर जितेपछि जनतालाई बिर्सने प्रवृत्तिप्रति पनि उनीहरुले असन्तुष्टि व्यक्त गरेका छन्।
जनताबाट आएका गुनासोलाई स्वाभाविक भन्दै अध्यक्ष यादवले भने, “विकास हुँदै नभएको अवस्था छैन, तर अन्य क्षेत्रको तुलनामा यो क्षेत्र अपेक्षाकृत पछाडि परेको छ।”
आम नागरिकका गुनासोलाई गम्भीरतापूर्वक लिँदै उनले बाटोघाटो, स्वास्थ्य, गरिबी, बेरोजगारी र समग्र विकासलाई पाँच मूलभूत समस्याका रूपमा पहिचान गरेको बताए। “यी समस्या आम जनताका लागि गम्भीर चिन्ताको विषय हुन्, यसको समाधानका लागि तीनै तहका सरकारले गम्भीरता देखाउन जरुरी छ,” उनले भने।

अध्यक्ष यादवले बोल्नेभन्दा पनि परिणाममा विश्वास गर्ने उल्लेख गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने परिवर्तन ल्याउने प्रतिबद्धता समेत व्यक्त गरे।
चुनावी छलफल तथा भेटघाट कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री मृगेन्द्र कुमार सिंह यादव, पूर्वमन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव एवं क्षेत्रीय निर्वाचन परिचालन समितिका संयोजक शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य तथा युवा विद्यार्थी संयोजक बिदेश्वर प्रसाद यादव (बिक्की), डाक्नेश्वरी नगरपालिकाका पूर्व मेयर शिवनारायण साह, जिल्ला अध्यक्ष सुनिल कुमार झा लगायतका नेताहरुको सहभागिता रहेको थियो।
